विश्व

भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

file

काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि भाजपाको एनडीए गठबन्धनले बहुमत हासिल गर्ने देखिएको छ । मत सर्वेक्षणअनुसारकै नतिजा निस्किएमा नरेन्द्र मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने छन् ।

बहुमतका लागि २७२ सिट ल्याउनुपर्ने हुन्छ । मत सर्वेक्षणको अनुमानमा एनडीए गठबन्धनले २८१ देखि ४०१ सिटसम्म ल्याउने देखाइएको छ । विपक्षी गठबन्धनले १०७ देखि २०१ सिटसम्म ल्याउन सक्ने उल्लेख छ । गत १६ मार्चदेखि सुरु भएको लोक सभाको निर्वाचनको प्रक्रिया ४६ दिनसम्म चलेको थियो । मतदान १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा सम्पन्न भएको थियो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिले पोस्टल ब्यालेटका भोट गणना हुनेछ । पोस्टल ब्यालेटमा पनि पहिलो चरणमा सेना, प्यारामिलिट्री, फोर्सका जवान र अधिकृतहरुले खसालेको भोट गणना हुने छ । त्यसपछि इलेक्ट्रोनिक विद्युतीय मेसिनबाट भएको मतदानको गणना हुने छ । भोट सुरु भएको चार घण्टापछि प्रारम्भिक रुझान सार्वजनिक हुने छ । अन्तिम नतिजा आजै बेलुका ६ बजेभित्र सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

लोकसभाको नतिजासँगै आजै आन्ध्रप्रदेश र ओडिसा विधानसभा निर्वाचनको नतिजा पनि सार्वजनिक हुने छ । यसअघि विधानसभाका अरुणाचल र सिक्किमको नतिजा सार्वजनिक भइसकेको छ । अरुणाचलमा भाजपा र सिक्किममा प्रेम सिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा अत्यधिक बहुमतका साथ विजयी भइसकेका छन् ।