समाचार

भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो ।

भाजपा एक्लैले बहुमत हासिल गर्न सकेन । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिट जित्दै बहुमत ल्याएको थियो । सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेसले यस पटक एक्लैले ९९ सिट जित्न सफल भयो ।

समाजवादी पार्टीले ३७ सिट जित्यो । त्रिणमुल कांग्रेसले २९ सिट जितेको छ । बहुमतका लागि २७२ सिट जित्नुपर्ने हुन्छ । भाजपा सबैभन्दा ठूलो दल बनेको छ । अब उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने भएको छ । सरकारको नेतृत्व भाजपाका नेता नरेन्द्र मोदीले गर्ने छन् ।