समाचार

मोदीले गरे नेहरुसँग बराबरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् ।

अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने बताएका हुन् । ‘सन् २०२४ मा जनताले नरेन्द्र मोदीलाई आशिर्वाद दिएका छन् । नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ नड्डाले भनेका छन् ।

मोदी भारतमा लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि यस्तो रेकर्ड जवाहर लाल नेहरुको नाममा छ । मोदीले नयाँ संकल्पका साथ अघि बढ्ने बताए । भाजपा नेता एवम् हालका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रोपटक पनि बहुमत दिएको भन्दै जनतासँग आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘देशका जनता जनार्दनले एनडीए माथि लगातार तेस्रो बार आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा यो अभूतपूर्व क्षण हो । ‘म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’ मोदीले वाराणसीबाट चुनाव जितेका हुन् ।