समाचार

सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिक टन फोहोर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ ।

सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट २ हजार २२६ किलो कुहिने र ८ हजार ७७४ किलो नकुहिने गरी कुल ११ हजार किलोग्राम फोहोर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिए । कुहिने फोहोरलाई स्थानीय तहसँगको सहकार्यमा नाम्चे इलाकामा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरी व्यवस्थापन गरिएको छ। नकुहिने फोहोरलाई काठमाडौं ल्याई पुनःप्रयोग गर्ने कम्पनीलाई हस्तान्तरण गरिएको छ ।

यस वर्षको सफाइ अभियानमा सगरमाथा, ल्होत्से र नुप्से हिमालका आधार शिविर र सोभन्दा माथिका स्थानबाट १० मेट्रिक टन फोहोर र पाँचवटा शव सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । सफाइ टोलीले सगरमाथा हिमालको क्याम्प(३ देखि क्याम्प–४ (बालकुने इलाका) बाट तीन शव, ल्होत्से हिमालको चुचुरो नजिकबाट एक शव र खुम्बु आइसफल इलाकाबाट एकवटा मानव अस्थिरपञ्जर सङ्कलन गरेको छ । सङ्कलित मानवशव तथा अस्थिरपञ्जर आवश्यक कानुनी प्रक्रियापश्चात् व्यवस्थापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुझाइएको सेनाले जनाएको छ ।

हिमालमा बेवारिसे अवस्थामा रहेका शव सङ्कलन निकै चुनौतीपूर्ण मानिन्छ । गत चैत १९ गते सफाइ टोलीले काम थालेको थियो । ५५ दिनको प्रयासपछि उक्त फोहर, शव र अस्थिरपञ्जर सङ्कलन गरिएको हो । यस अभियानमा सेनानी आदित्य कार्कीको नेतृत्वमा १० सैन्य जनशक्ति र १८ जना शेर्पा सहयोगीका साथै अन्य आरोही दलका सदस्य प्रत्यक्ष संलग्न रहेका थिए । सफाइ टोलीले सगरमाथाको सफल आरोहणसमेत गरेको थियो ।

आधार शिविरमा रहेका समन्वय अधिकृत, स्थानीय तहका जनप्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समिति तथा लुक्लामा रहेको इलाका प्रहरी कार्यालयबाट फोहोर तथा शव सङ्कलन तथा व्यवस्थापनमा महत्वपूर्ण सहयोग प्राप्त भएको सहायक रथी देउजाले जानकारी दिए । अभियानलाई सफल बनाउन पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार सङ्घ, नेपाल पर्वतारोहण सङ्घ र फोहर व्यवस्थापनमा सहयोग गर्ने सङ्घसंस्थाको योगदान महत्वपूर्ण रहेको सेनाले जनाएको छ ।

सन् २०१९ मा सञ्चालित अभियानबाट सफाइ टोलीले सगरमाथा र ल्होत्से हिमालबाट १० दशमलव ६ मेट्रिक टन फोहर र चारवटा शव सङ्कलन गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा अभियान सञ्चालन गरिएको थिएन । सन् २०२१ मा विभिन्न छ हिमालबाट २७ दशमलव ६ मेट्रिक टन फोहोर, चारवटा शव र एकवटा अस्थिरपञ्जर तथा सन् २०२२ मा चार हिमालबाट ३३ दशमलव ८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको थियो ।

सन् २०२३ मा सफाइ टोलीले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ दशमलव सात मेट्रिक टन फोहोर सङ्कलन गरेको थियो । हिमालमा रहेका फोहोर हटाउनका लागि सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।