समाचार

अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ

काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ । उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ ।

दुर्गाबहादुर वली, कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ । तर उनको कुनै पनि कन्सल्टेन्सी नरहेको खुलेको छ । रकम लिएपछि विश्वासमा दिलाउन उनले भारत लगेर बायोमेट्रिक समेत गर्न लगाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

अमेरिका पठाउने भन्दै सिंगापुर, आइबरीकोस्ट हुँदै घानासम्म पुर्‍याएर अलपत्र पार्ने गरेको खुलेको छ । खड्काविरुद्ध ८ वटा बैंकिङ कसुर र १ वटा ठगीको मुद्दा समेत चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । खड्काविरुद्धको बैंकिङ कसुर र ठगीको बिगो ७८ लाख ८८ हजार छ ।