समाचार

रास्वपाले चलाएका मन्त्रालयमा भ्रष्टाचार हुँदैन : लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चलाएको मन्त्रालयमा भ्रष्टाचार नहुने दाबी गरेका छन् । रास्वपाका सभापति समेत रहेका लामिछानेले शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दार भएर कोसिस गरिरहेको जिकिर गरेका छन् ।

उनले भने, ‘जनताको अपेक्षा असाध्यै धेरै ठूलो छ । जुन पूरा गर्न हामी मिहिनेत र लगनका साथ लागेका छौं । तर वर्षौंदेखिको बेथिति चिर्न केही समय लाग्छ नै ।’ सरकारमा गएको भर्खरै एक सय दिन पुगेको र यो बीचमा मन्त्रालय चलाउने बलियो आधार बनेको लामिछानेले बताए । उनले भने, ‘मन्त्रालयमा हामीले गरिरहेको काम हेरिरहनु भएको होला । हामी पक्कै फरक छौं । हाम्रो मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको निश्चिन्तता, ग्यारेन्टी दिनसक्छौं ।’