समाचार

राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदै

काठमाडौं । चितवनस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणको अवलोकनका लागि खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले चितवनमा रहेको ऐतिहासिक दियालो बंगलाको अनुगमन गर्दै यस्तो जानकारी गराएका हुन् ।

यो बंगला विगतमा पूर्व राजाहरूले सञ्चालन गर्दै आएकोका थिए । अहिले नेपाल ट्रष्टको नाममा रहेको छ । दियालो बंगला दरबारमा १७ माघ २०२८ मा राजा महेन्द्रको निधन भएको थियो । राजा महेन्द्रले २०१८ सालमा निर्माण सुरु गरेर २६ सालमा निर्माण सकेको दियालो बंगलामा महेन्द्रपछि उनका छोरा वीरेन्द्रको परिवारसहित हिउँदमा गएर बेलाबेला बस्ने गरेका थिए ।

बंगलामा राजा महेन्द्रको शयन कक्ष छ । त्यसको सिरानीमा राजा महेन्द्रले प्रयोग गर्ने दुईवटा हतियार छन् । त्यति बेलैका बिस्तारा, पलङ र गलैचाहरू छन् । स्मोकिङ जोन साथै बार पनि रहेको छ । नारायणगढ बजारदेखि चार किलो मिटर पर नारायणगढ-मुग्लिन सडक र देवघाट जाने सडकको आडमा दरबार क्षेत्र रहेको छ । जंगलभित्र रहेको दरबार नजिकै उत्तरमा नारायणी नदी पनि छ । दरबार क्षेत्र इतिहास बुझ्न र अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त स्थल हुने देखिएको छ ।