समाचार

शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा ओलीले शिक्षकका कारण नतिजा खस्किएको टिप्पणी गरेका हुन् । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको ओलीले बताए । ‘अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ’, ओलीले भने ।

एसइईमा नन ग्रेड नतिजा आएका विद्यार्थीहरुले दिने पूरक परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने ओलीले बताए । त्यस्तो निःशुल्क अनलाइन कक्षा कसले सञ्चालन गर्ने भन्ने ओलीले स्पष्ट पारेनन् । ‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भएपनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीहरुलाई मेरो आग्रह छ’, ओलीले भने ।

२०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ । सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताए ।

अनेरास्ववियुले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसहित ३।६ जीपीए भन्दा माथि ल्याएका १०१२ जना विद्यार्थीलाई सम्मान गरेको पूर्वकेन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए ।