समाचार

गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्‌मा पठाउन नहुने बताएका छन् । सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’ भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले बताए । उनले भने, ‘अब बन्ने सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरू समावेशीताका लागि उदाहरणीय हुनुपर्छ ।’

समावेशीको उदाहरण दिनुपर्दा २०१५ साल दिनुपर्ने विवशता पार्टीमा रहेको उनले सुनाए । ‘उदाहरण दिनुपर्‍यो भने २०१५ सालको दिनुपर्दछ । अहिले सरकार बनाउँदै गर्दा २०८१ सालकै उदाहरण दिन पाइयोस् न,’ महामन्त्री थापाले भने,‘दलित, मधेशी, महिला, थारु, अल्पसंख्यक, मुसलमान सबै छन् भनेर ।’

यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एकजना पनि नभएको बताए । ‘न दलित पठायौं, न थारू पठायौं । न मधेशी पठायौं,’ थापाले भने, ‘कहिले पठायौंभन्दा २०१५ सालमा पठाएको हो नि त, बिर्सौं ? भन्नुपरेको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ । कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच बनेको छ ।