विज्ञान प्रविधि

वर्षाका कारण ६४० मेगावाट बराबरको विद्युत उत्पादन बन्द

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ ।

यस्तै ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री ुएु र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत उत्पादन बन्द भएको छ । समग्रमा विद्युत प्राधिकरण र यसका सहायक कम्पनीबाट उत्पादन हुने पाँच सय २६ मेगावाट जलविद्युत उत्पादन बन्द भएको छ ।

यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट विजुली उत्पादन बन्द भएको छ । यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दुधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशुली, पाँच मेगावाटको देविघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

विभिन्न आयोजनाको विद्युत उत्पादन प्रभावित हुँदा पनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ । अहिले विद्युत प्राधिकरण र निजी क्षेत्रको गरेर दुई हजार दुई सय सात मेगावाट जलविद्युत उत्पादन भइरहेको छ । देशमा अहिले अधिकतम एक हजार सात सय १० मेगावाट बिजुली खपत भइरहेको छ । छ सय ४१ मेगावाट बिजुली भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।