मनोरञ्जन

राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

काठमाडौं । चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो ।

नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।

विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी थप पाँच बिघा जमिन छ । पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरे ।

मन्त्री तामाङले पूर्वराजाहरुले पूर्व पश्चिम र राज्यको सबै ठाँउमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा दियालो बंगला सर्वसाधारणका लागि खुला गरेको जानकारी दिइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरुको विलासी जीवनशैली दियालो बंगला दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् ।