फिचर

विदेशमा रहेका नेपालीले ११ महिनामा पठाए साढे १३ खर्ब रेमिट्यान्स

Photo : NBA

काठमाडौं । विदेशमा रहेका नेपालीले ११ महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । जुन मासिक १ खर्ब २० अर्ब हुन आउँछ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिना (साउन–जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यस अनुसार हरेक महिना १ खर्ब २० अर्ब ६८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको तथ्यांकबाट देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष विप्रेषण आप्रवाह १९.३ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष संस्थागततर्फ ४ लाख २२ हजार ९३६ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्ष ४ लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृति लिएका थिए । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । गत वर्ष यो संख्या २ लाख ६० हजार २६२ रहेको थियो । यस वर्ष व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षभन्दा केही माथि देखिएको छ ।