समाचार

भद्रकाली मन्दिर पुनर्निर्माण थालियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर परिसरका भवनहरू पुनर्निर्माण गर्न थालेको छ । मन्दिरको दक्षिण–पश्चिमबाट भवन पुनर्निर्माण सुरु भएको हो । महानगर उपप्रमुख सुनिता डंगोलले जग पूजा गरेर पुनर्निर्माण शिलान्यास गरिन् । मन्दिरका संरचना २०७२ सालको भूकम्पबाट जीर्ण अवस्थामा पुगेका थिए । मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी, सत्तल लगायत संरचना छन् । पुनर्निर्माण लागत ३६ करोड रुपैयाँ रहेको महानगरले जनाएको छ ।

सम्पदा तथा पर्यटन विभाग वरिष्ठ इन्जिनियर रविन्द्र रिजालका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कबोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनर्निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग ६ जेठमा सम्झौता भएपछि ३ असारमा महानगरले कार्यादेश दिएको थियो । मन्दिर पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुने महानगरले जनाएको छ । उत्तर (भृकुटीमण्डप) तर्फ दइटा ब्लक आपसमा जोडिएका हुनेछन् ।

यस्तै दक्षिण (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) तीन ब्लक हुनेछन् । यिनीहरू पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । महानगरका अनुसार पुनर्निर्माण क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ ।

‘अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समिति सहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने छ,’ उपप्रमुख डंगोलले भनिन् । महानगरले गुठी संस्थान, पुरातत्व विभाग, भद्रकाली गुथिसहित सरोकारवालाको पुनर्निर्माण साझेदारसँग ३० जेठमा ‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाहरूको पुनर्निर्माण सम्बन्धमा’ बैठक बसेर पुनर्निर्माणको काम दक्षिण–पश्चिम भागबाट सुरु गर्ने निर्णय गरेको थियो ।