फिचर

दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण

काठमाडौं । आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र विवादबारे उपसभामुख इन्दिरा रानामगरले प्रष्टीकरण सार्वजनिक गरेकी छिन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानामगरले आफूले करूणाभावले सहयोग गर्न खोजेको तर विवादित बनाइएको प्रतिक्रिया दिइन् ।

दूतावासलाई पत्र लेखेको एक वर्षपछि उक्त विषय नियोजित रूपमा बाहिर ल्याइएको पनि उपसभामुख रानामगरको भनाई छ । सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्।

उनले पत्रमा आफूसहित सबैका लागि उक्त कार्यक्रम महत्वपूर्ण भएको र संयुक्त राष्ट्रसंघबाट आएको निम्तोलाई उच्च प्राथमिकतामा राखेको समेत उल्लेख गरेकी थिइन्। रानाले पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङ सहभागी हुन लागेको उल्लेख गरेकी थिइन्।

‘यात्रा गर्नु पर्ने समयावधि अत्यन्त छोटो रहेको तर राजदुतावासमा अन्तर्वार्ता को मिति लिन लामो समय कुर्नु पर्ने अवस्था रहेको अवस्थामा मैले मसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएको र उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ त्यसबारे प्रष्टीकरण दिँदै उपसभामुख रानामगरले उल्लेख गरेकी छन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वस् निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ । मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन।’

उनले उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनि आएको अनुरोधलाई स्वीकार गरी लेखिएको पत्र पदीय मर्यादा अनुरुप भएन भनी आइरहेका प्रतिक्रिया तथा दृष्टिकोणप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। ‘

तर मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेड वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ। मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकार नै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरीहरु धेरै होलान्, त्यसबाट फाइदा उठाउनेहरु पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन,’ विज्ञप्तिमा उल्लेख छ।