समाचार

महिला एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । यसअघिका दुई संस्करणमा खेलेका सबै ८ खेलमा पराजित नेपालसामु श्रीलंकाको दम्बुलामा भइरहेको महिला एसिया कप क्रिकेटको सेमिफाइनल पुग्ने समीकरण छ । नेपालले आइतबार राति पाकिस्तानको सामना गर्नेछ । नेपालले जित हात पारेमा समूह चरण पार गर्ने लगभग निश्चितजस्तै हुनेछ ।

नेपालले बिहीबार पहिलो खेलमा यूएईमाथि ६ विकेटको विजय हात पारेपछि अंकतालिकामा केही सहज देखिएको हो । ओपनर सम्झना खड्काले रनगिरी दम्बुला क्रिकेट रंगशालामा अविजित ७२ रन बनाएपछि नेपालले १ सय १६ रनको लक्ष्य १६.१ ओभरमै पूरा गरेको थियो । नेपालले एसिया कपमा जितेको खेल नै यो पहिलो थियो ।

पाकिस्तान भने बिहीबार आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग ७ विकेटले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तान १९।२ ओभरमा १ सय ८ रनमै अलआउट भएको थियो । भारतले १४।१ ओभरमै लक्ष्य पूरा गरेको थियो । समूह ‘ए’ मा भारतले आइतबार पहिलो खेलमा यूएईको सामना गर्नेछ । भारत र नेपालले आ–आफ्नो खेल जितेमा दुबै टोली सेमिफाइनल पुग्नेछ ।

तर दुई पटक उपविजेता पाकिस्तानलाई हराउन नेपाललाई त्यति सजिलो छैन । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पाकिस्तानले नेपाललाई ४७ रनमा अलआउट गरेको थियो ।