समाचार

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

Getty images

काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ ।

आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए पनि बाइडन उम्मेदवार बन्न लाग्दा प्रकट नभएका केही चिन्ता कमला ह्यारिस उम्मेदवार हुँदा व्यक्त भएका छन्।

ताजा सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्पभन्दा अलिकति पछाडि देखिएकी छन्। तर त्यो सर्वेक्षणको सङ्ख्या तलमाथि भने हुन सक्छ। उम्मेदवारी परित्याग गरेको घोषणा गर्नुअघि बाइडन पनि लगभग उस्तै अवस्थामा थिए। राष्ट्रपति बाइडनको तन्दुरुस्ती र उनको प्रचार अभियानको विषयलाई लिएर विगत तीन सातादेखि चिन्तित डेमोक्र्याटहरूमा अहिलेका लागि एउटा ऊर्जा प्राप्त भएको छ।

पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका सबै आकाङ्क्षीहरूले ह्यारिसलाई अनुमोदन गरेका छन्। डेमोक्र्याटिक पार्टीको राजनीतिमा निकै प्रभावशाली मानिने पूर्वसभामुख न्यान्सी पलोसीले पनि उनलाई उम्मेदवार स्वीकार गरिसकेकी छन्। त्यसैले नोभेम्बरको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने ठानिएको छ। प्रमुख दुई पार्टीका समर्थकहरूबीच विभाजन रहेको अमेरिकी राजनीतिमा ट्रम्पको उम्मेदवारी नै मन नपराउने मानिसहरू पनि छन्।

उपराष्ट्रपति ह्यारिसको सबैभन्दा ठूलो चुनौती र अवसर ट्रम्पप्रतिको विकर्षणबाट लाभ लिनु र मध्यमार्गी मतदातालाई आकर्षित गरी स्विङ स्टेट भनिने कुनै पार्टीको स्पष्ट वर्चस्व नभएका राज्यका मतदातालाई पुनर्जागृत गर्नु हो। त्यस्ता मतदाताहरू विगत केही सातामा विचलित हुन थालेको देखिन्थ्यो। डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय निर्वाचन अभियानमा आएको नयाँ उत्साहमा डलरको प्रसङ्ग पनि सँगै आउँछ।

ह्यारिसको प्रचार अभियानका अनुसार बाइडनको घोषणाको २४ घण्टाभित्र उपराष्ट्रपतिले आठ करोड अमेरिकी डलर चन्दा पाएकी छन्। यो अमेरिकाका कुनै उम्मेदवारले यस पटकको निर्वाचनमा एकैदिन पाएको सर्वाधिक चन्दा हो। उनीसँग यसअघि नै बाइडन(ह्यारिस प्रचार अभियानको कोषमा रहेको १० करोड अमेरिकी डलर छ। ह्यारिसको प्रचारका लागि यथेष्ट खर्च जुट्ने निश्चित भएको छ।

पार्टीबाट ह्यारिसको उम्मेदवारी सुनिश्चित भएको अवस्थामा विपक्षी रिपब्लिकन पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि ृबाइडनकोे उमेरलाई लिएर गरिरहेको टिप्पणी पनि स्वतः निस्तेज भएर जान्छ। ट्रम्पको चुनावी प्रचार अभियानले यसअघि डेमोक्र्याट उम्मेदवार रहेका बाइडनमाथि महिनौँदेखि उनको शारीरिक दुर्बलता र अलमलमा पर्ने बानीप्रति कटाक्ष गर्दै आएको थियो। चार साताअघि भएको चुनावी बहसमा राष्ट्रपतिको फितलो प्रस्तुतिप्रति कैयौँ अमेरिकी नागरिकले पनि टिप्पणी गरेका थिए।
ह्यारिस अहिले ५९ वर्षकी भइन्। उनी थप ऊर्जासहित निर्वाचन अभियानमा लाग्ने छिन् र पार्टीका लागि आफू उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्ने छिन्। उनले ७८ वर्षीय ट्रम्पको उमेरलाई पनि अब चुनावी मुद्दा बनाउन सक्छिन्।

ट्रम्प राष्ट्रपतिमा बने भए उनी अहिलेसम्मकै सबैभन्दा वृद्ध राष्ट्रपति हुने छन्।
ह्यारिसको अर्को बलियो पक्ष चाहिँ उनले अश्वेत जातिको भोट आकर्षित गर्न सक्ने सम्भावना हो। विगतका महिना भएका मतसर्वेक्षणहरूमा ती मतदाताहरूमा बाइडनप्रतिको आकर्षण घट्दो क्रममा रहेको देखिएको थियो।

यदि उनले अन्य अल्पसङ्ख्यक र युवा मतदाताहरूको मत यसअघि सन् २००८ र २०१२ मा बराक ओबामाले जसरी नै बटुल्न सकिन् भने त्यसले निर्णायक मानिएका स्विङ स्टेटहरूमा उनी ट्रम्पविरुद्ध बलियो अवस्थामा हुने छिन्। अमेरिकाको यो पटकको निर्वाचनमा ‘स्विङ स्टेट’ ले नै परिणाम छिनोफानो गर्ने ठानिएको छ।

बीबीसीको सहयोगमा