समाचार

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम

Bindu Rawal and Dolly Bhatta of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 23, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।


सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् । भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २÷२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् ।

त्यसअघि श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतको जितमा ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाइन् । उनको यो टी२० आई करिअरको उच्च प्रदर्शन हो ।

अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन बनाइन् । भारतलाई ओपनर हेमलथा र शेफालीले १४ ओभरमा १२२ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गराएका थिए । नेपालकी सीता राना मगरले ४ ओभरमा २५ रन खर्चेर २ तथा कविता जोशीले १ विकेट लिइन् ।

समूह ए बाट भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेपनि एक खेल जित्न सकेको थिएन ।