विश्व

ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा

Samuel Corum/Getty Images

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्।

‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु’, उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्। घटनाका बारेमा सोमवार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्र्याट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए।

पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्‍यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए। सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले “भारी मन बनाएर” राजीनामा दिएको उल्लेख गरेकी छन्। मङ्गलवार राति दिएको राजीनामामा आफूले “निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको” चीटलले उल्लेख गरेकी छन्।

“अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ,” उनले भनेकी छन्। “मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु।” राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन्।

“जुलाई १३ मा भएको के हो भन्नेबारे स्वतन्त्र समीक्षाको काम जारी नै रहन्छ र म त्यसको निष्कर्षका लागि सहयोग गर्न आग्रह पनि गर्छु। हामी सबैलाई थाहा छ त्यो दिन जे भयो त्यो अब कहिल्यै दोहोरिने छैन,” बाइडनले भनेका छन्।


अमेरिकी राष्ट्रपति जो बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन्। तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रोलाई कार्यवाहक निर्देशक नियुक्त गरेका छन्। सीक्रेट सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत रोनल्ड रो सन् २०२३ मा उपनिर्देशक भएका थिए।


राष्ट्रपति बाइडनले सन् २०२२ मा चीटललाई सीक्रेट सर्भिसको प्रमुख नियुक्त गरेका थिए। उनले उक्त निकायका लागि विभिन्न भूमिकामा २७ वर्ष काम गरेकी छन्। अमेरिकी सीक्रेट सर्भिसले वर्तमान र पूर्व राष्ट्रपति सहित अन्य अधिकारीहरूको सुरक्षा हेर्ने गरेको छ।
बीबीसी