मनोरञ्जन

नेपालको फेसन दुनियाँको नायक–फुपू तेन्जिङ शेर्पा

प्रेमकृष्ण श्रेष्ठ, काठमाडौं ।

बलिवुडमा सन १९६९ मा एउटा चलचित्र आएको थियो—‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मि कपुर बैजयन्ती मालालाई हेदै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिमिमिली साडीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो साडी खुब बिक्री भयो भनिन्छ । आज भन्दा ५५ वर्षअघि नै फेसनले त्यस्तो प्रभाव पारेको थियो भने अहिले झन प्रविधिको विकासले फेसनको शक्तिशाली प्रभावको सहजै अनुमान लगाउन सकिन्छ ।
सन १९६५ मा ‘आरजु’ चलचित्र आएपछि ‘साधना हेयर कट’, सन १९९०मा ‘आशिकी’ आए पछि ‘राहुल राय’ कट सँगै नायक, नायिका र मोडलले लगाउने विसिन्न वान्कीको पोशाकलाई दुनियाँले दिवाना भएर पछ्याएका हामीले सुनेका छौँ, हेरेका छौँ । हलिवुड, बलिवुडमा मात्र होइन, कलिवुडमा पनि फेसनको प्रभाव हामीले देख्दै आएका छौँ ।

आजको समय नै फेसनको हो भन्दा अत्युक्ति नहोला । शब्द भन्दा संगीत बढी सुनिने, संगीत भन्दा भिडियो बढी हेर्ने र भिडियोमा पनि मोडलको फेसनलाई नियाल्ने प्रवृति बढदै गएको छ । चलचित्र हेरिसकेपछि आम दर्शकमा फलानो गीतमा मिरुना मगरले लगाएको पोशाक कस्तो राम्रो थियो भन्नेखालको धारणा पनि समिक्षासँगै उनिनु स्वभाविक हो । अहिलेको समयमा, सौन्दर्यमा अझ सौन्दर्यको जोड गर्ने फेसनलाई हामी नजरअन्दाज गर्न सक्दैनौ ।
नेपालको फेसनमा योगदानको हिसाबले सँधै स्मरणमा लिपिक्क टाँसिराख्नु पर्ने एक गौरवशाली नाम हो–फुपू तेन्जिङ शेर्पा । तेन्जिङ शेर्पाका रुपमा परिचित उनको परिचय यतिमै काफी हुन्न । इभेन्ट व्यवस्थापक हुँदै गायन र अभिनयमा समेत अनुभव सँगालिसकेका फुपू तेन्जिङ शेर्पा पछिल्लो समय फेसनबारे अध्यापन गराउनेतर्फ बढी उन्मुख छन् । जसको श्रेय उनी आफै हुन् । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका प्रबन्धक निर्देशकसमेत रहेका उनी भन्छन् –“सौन्दर्य प्रतियोगिता आयोजना र व्यवस्थापन गरेको झण्डै दुई दशकको अनुभवलाई फेसन इन्स्टिच्युटमार्फत शेयर गर्दैछु ।”
पछिल्लो समय प्यासिफिक इभेन्ट म्यानेज्मेन्टमार्फत फेसन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएका उनले करिब पाँच वर्ष यता भने आईआईएफटीमार्फत फेसन डिजाइनर उत्पादन गर्दै आएका छन् । जसले नेपाली फेसन दुनियाँमा इँटा थप्ने काम गरेको छ ।
यति मात्र होइन, नेपालमा पहिलोपटक जातीय एवं क्षेत्रीयरुपमा सौन्दर्य प्रतियोगिताको ट्रेण्ड भित्रयाउने पनि उनी नै हुन् । जतिखेर नेपालमा नगन्यरुपमा मात्र सौन्दर्य प्रतियोगिताहरु हुने गर्दथ्यो । त्यतिखेर फुपू तेन्जिङ शेर्पाले ‘मिस टिन शेर्पा’ आयोजना गरे । सन २००४ मा ‘मिस टिन शेर्पा’ आयोजना गर्दा ‘मिस नेपाल’ बाहेकका सौन्दर्य प्रतियोगिता नियमित थिएनन् । तर त्यो अवस्थामा समेत विभिन्न जात एवं समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताहरु उनले आयोजना गरे ।
सन २००३ मा ‘किड क्वीन पोखरा’ आयोजना गरेर ब्युटी पेजेन्टमा हात हात हालेका फुपू तेन्जिङ शेर्पा भन्छन्, “जतिखेर सौन्दर्य प्रतियोगिता गर्न सुरु गरेको थिएँ, त्यो समय गार्मेन्ट व्यवसायी धरासायी अवस्थामा थियो । त्यस्तो अवस्थामा समेत ब्युटी पेजेन्ट गर्नु आफैमा चुनौति थियो । तर, मैले नियमित ब्युटी पेजेन्ट गर्दै आएँ ।”
पूर्वी नेपालको विकट जिल्ला ताप्लेजुङको लेलेप –५ ( हाल फक्ताङलुङ –६ मा पर्छ ) मा जन्मिएर पनि सौन्दर्य प्रतियोगिता र फेसनलाई व्यवसायीरुपमा अँगाल्न सफल फुपू तेन्जिङ शेर्पा आफ्नो विगतलाई स्मरण गर्दै भन्छन्– “पाटन हाइस्कुलबाट एसएलसी उतीर्ण गरेपछि नमुना कलेजमा व्यवस्थापन विषय लिएर अध्ययन सुरु गरेँ, त्यससँगै फेसन डिजाइनिङ कोर्स गरेँ । फेसन डिजाइनिङको कोर्स सकेलगत्तै सौन्दर्य प्रतियोगितामा हात हालेको हुँ ।”
‘किड क्वीन पोखरा –२००३’ पछि सौन्दर्य प्रतियोगितालाई निरन्तरता दिएका उनले त्यसपछि धरान, विराटनगर, चितवन र काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरे । त्यसबीचमा उनले ‘मिस टिन शेर्पा–२००४’ आयोजना गरेर जातीय सौन्दर्य प्रतियोगितातिर उनी लम्किए । जसले नेपालमा सौन्दर्य प्रतियोगिताको नयाँ ट्रेण्ड नै ल्यायो । ‘किड क्वीन पोखरा’, ‘किड क्विन विराटनगर’, चितवन, काठमाडौं गरिरहेकै अवस्था सन २००५ मा ‘मिस नेवा’ आयोजना गरे जुन अहिले नियमित छ । ‘मिस टिन शेपार्’, ‘मिस नेवा’, ‘मिस लिटिल नेवा’ हुँदै सन २०१७ मा आएर ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ गरे । जतिखेर अन्य आयोजकहरु पनि फुपू तेन्जिङ शेर्पाले प्रारम्भ गरेको जातीय तथा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगितालाई पछयाउँदै विभिन्न जात, वर्ग, समुदाय, कलेज हुँदै टोलसम्मको नाममा सौन्दर्य प्रतियोगिता सुरु गरे । सन २००३ देखि सन २०२४ सम्म आइपुग्दा तीन सयभन्दा बढी सौन्दर्य प्रतियोगिता, फेसन शो म्युजिकल इभेन्टहरु आयोजना गरिसकेका छन् ।
उनी इभेन्ट तथा सौन्दर्य प्रतियोगिताहरुमा मात्र सिमित रहेनन्, गीतसंगीत तथा चलचित्रमा समेत देखिए । केही चलचित्र र म्युजिक भिडियोमा मोडलिङ गरेका उनी शेर्पा समुदायका प्रथम अभिनेतासमेत हुन् ।
‘राहदानी’ नामक नेपाली फिल्ममा अभिनय गरेर वाहवाह कमाएका उनले कलाकारितालाई सौख र रहरको रुपमा मात्र लिए । गायन, अभिनय र मोडलिङबारे उनी भन्छन् –“मलाई हरेक मान्छे कलाकार जस्तो लाग्छ । त्यही सोचेर मैले आफूलाई परीक्षण मात्र गरेको हुँ, व्यवसायिकरुपमा अँगाल्ने सोच आएन । अहिले पनि छैन ।”
करिब सात वर्ष यता काठमाडौंको बागबजारस्थित बागबजार प्लाजामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन सञ्चालन गर्दै आएका छन् । आईआईएफटीको कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा समेत ब्राण्ड खुलिसकेको छ । आईआईएफटीले करिब तीन वर्षकै बीचमा एक हजारभन्दा बढी युवायुवतीलाई फेसन डिजाइनिङको प्रशिक्षण दिइसकेको छ ।
आईआईएफटी काठमाडौंकै उत्कृष्ट फेसन इन्स्टिच्युटको रुपमा स्थापित छ, जसले ‘मिस नेपाल’, ‘मिस मंगोल नेपाल’ लगायतका दजनौँ गन्तिका सौन्दर्य प्रतियोगिताका लागि आफ्नो डिजाइनिङ पहिरण उपलब्ध गराइसकेको छ ।
आईआईएफटीले सन २०२० मा ‘बेस्ट फेसन एकेडेमी अवार्ड’ पाएको थियो भने हालैमात्र ब्युटी पेजेन्ट एसोसिएसन नेपाल ( बिपान ) का भाइस प्रेसिडेन्ट तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको कार्यकारी सदस्यसमेत रहेका फूपु तेन्जिङ शेर्पाले आईआईएफटीमार्फत ‘कर्पोरेट विजिनेस एक्सेलेन्स अवार्ड–२०२२’ पाए । फेसनप्रतिको के्रज बढदै जाँदा आईआईएफटी सहरकै उत्कृष्ट इन्स्टिच्युटमा दर्ज भएको छ । जसबाट फूपु तेन्जिङ शेर्पा उत्साहित छन् । उनी भन्छन्–“आईआईएफटी अझ गुणस्तरीय फेसन इन्स्टिच्युटका रुपमा अगाडि बढाउने प्रयास हुँदैछ । फेसन के्रज बढदै जानु र इन्स्टिच्युटले स्तरीय डिजाइनिङ शिक्षा प्रदान गर्न सके स्वरोजगारी बढने उनको विश्वास छ ।”
शेर्पा ग्रुपको अध्यक्षको रुपमा कार्यरत शेर्पाले काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा विगत लामो समयदेखि ‘फुड कोर्ट’समेत संचालन गर्दै आएका छन् ।