समाचार

घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको थियो ।

बुधबार राति अस्पताल पुगेर ओलीले चिकित्सकसँग शाक्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ । प्रधानमन्त्रीले घाइते क्याप्टेन शाक्यका परिवारसँग पनि कुराकानी गरेका थिए ।