फिचर

पेरिस ओलम्पिक : खेल सकिएको २ घण्टापछि अर्जेण्टिना हारेको निर्णय

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा अनौठो घटना भएको छ । बिहीबार मोरोक्कोले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनायो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुङ्गेको मानिएको थियो । २–१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर त्यो गोललाई भीएआरले मान्यता दिएन ।

त्यस लगतै दर्शकबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । त्यसपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए । दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको सङ्केतमा सिठ्ठी भने बजाएका थिएनन् । त्यसपछि खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो ।