समाचार

मौरितानियाको समुद्रमा पानीजहाज दूर्घटना, २५ जना मारिए

file

काठमाडौं । मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको छ । आईओएमका अनुसार झन्डै तीन सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका थिए र जुलाई २२ मा डुङ्गा पल्टिनुअघि सात दिन समुद्रमा बिताएका थिए ।

तटरक्षक पुग्नुअघि १५ जनाको ज्यान गएको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा सबैको ज्यान गएको छ । यस्तै घटना जुलाई ५ तारिखमा पनि भएको थियो जसमा मौरितानियाली तटरक्षकले ८९ जना आप्रवासीको शवलाई पल्टिएको डुङ्गाबाट बरामद गरेका थिए । धेरै आप्रवासी मोरक्कोको तटबाट क्यानरी टापुहरूमा पुग्न खोज्छन् । पश्चिम अफ्रिकाबाट स्पेनसम्मको यो मार्ग संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक हो ।