समाचार

यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् ।

श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका मामा तेजबहादुर आलेले जानकारी गराए । ३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

पाँच वर्षदेखि यूएईको सारजाह जेलमा रहेका श्रेष्ठ र थापाको उद्धारका लागि नेपालमा अभियान चलाइएको थियो । देश–विदेशबाट संकलित रकम पीडित परिवारलाई बुझाएपछि श्रेष्ठ र थापा जेलमुक्त भएका हुन् ।