समाचार

पेरिस ओलम्पिकको भब्य उद्घाटन

काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो ।


उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भए

उद्घाटन समारोहमा हल्का वर्षा भएपनि त्यसले समारोहलाई खासै प्रभाव पार्न सकेन । फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरे ।फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए ।

उद्घाटन समारोहमा चर्चित गायिक लेडी गागा, सेलियन डियोन लगायतले प्रस्तुती दिएका थिए । यस्तै फ्रेन्च फुटबल लेजेण्ड जिनेदिन जिदान, टेनिस स्टार राफायल नाडाल लगायत सहभागि थिए । पेरिस ओलम्पिकको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा टेबलटेनिसका श्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले बोकेका थिए । उद्घाटन समारोहमा नेपाल, नामबिया र नाउरको खेलाडीहरु एउटै डुङ्गामा चढेका थिए ।

श्यान्टु र मनितासहित पौडी खेलाडी एलेक्स शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाली टोलीका सेफ दि मिसिन टंक लाल घिसिङ लगायत डुङ्गामा सयर गरेका थिए । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका श्यान्टुले उद्घाटनको भोलीपल्ट शनिवार नै आफ्नो चुनौती पेश गर्दैछन् । यस्तै ब्याडमिन्टनका प्रिन्सको पहिलो खेल पनि शनिवारै छ ।

पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।