समाचार

गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

काठमाडौं । गण्डकी प्रदेश सरकारका यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को एक तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल भयो । जसमा उनी गन्जीमा देखिन्छन् । उनी छैटौंपटक मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र राखेनन्, विवादित गतिविधिले सधैं चर्चामा रहन्छन् ।

पछिल्लो पटक मनाङे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको सञ्चारमाध्यमले जनाएका छन् । केही दिनअघि गञ्जीमै कार्यकक्षमा बसेर मदिरासमेत खाएर अपशब्द बोलेको कर्मचारीले गुनासो गरेको खबरमा उल्लेख छ ।


मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेको बताइएको छ । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेका थिए ।