फिचर

दुई दर्जनभन्दा बढी मुलुकबाट आएका खेल पत्रकारसँग राष्ट्रपतिको भलाकुसारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कांग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बढाएको बताए । नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभई खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए । उनले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सराहना गरे ।