विश्व

झण्डै एक दशकपछि भारतीय विदेशमन्त्री पाकिस्तानमा

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर मंगलबार पाकिस्तान पुगेका छन् । दुई देशबीच वर्षौंदेखि कायम तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण एक दशकपछि भएको हो । संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं समिटमा भाग लिन जयशंकर इस्लामावाद पुगेका हुन् ।

एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको छ । पाकिस्तानले त्यसमा सहभागिताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर, उक्त समिटमा मोदी नगएर विदेशमन्त्री जयशंकर गएका हुन् ।

मोदी पहिलो पटक प्रधानमन्त्री भएको एक वर्षपछि २०१५ को डिसेम्बरमा आकस्मिक रूपले पाकिस्तानको यात्रा गरेका थिए । त्यतिबेला उनी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज सरिफको लाहोरस्थित घरमै पुगेका थिए । त्यसयता भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण जयशंकरकै भएको हो ।

२०१६ मा उरीस्थिति भारतीय सेनाको ब्रिगेड मुख्यालयमा आतंकवादी हमला भएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्न पुग्यो । त्यसयता विभिन्न घट्नक्रमले दुई देशको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ ।

पाकिस्तानका तात्कालिन विदेशमन्त्री बिलवाल भुट्टो गतवर्ष एससीओको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन भारत आएका थिए । भारतले गोवामा गतवर्ष उक्त बैठकको आयोजना गरेको थियो । भुट्टोको उक्त भारत भ्रमण पाकिस्तानबाट १२ वर्षपछि त्यहाँका विदेशमन्त्रीको भारत यात्रा थियो ।