समाचार

नाइजेरियामा इन्धन ट्यांकर विष्फोट, कम्तिमा १४० जना मारिए

file

काठमाडौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट भएको छ । एजेन्सीहरुका अनुसार यस घटनामा कम्तिमा एक सय ४० जना मानिस मारिएका छन् । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ ।

नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको भाउ बढेका बेला भएको यो दुर्घटनाले थप क्षति गरेको बताएको छ । दुर्घटना पछि स्थानीय बासिन्दाहरू ट्याङ्कर वरिपरि भेला भएर सडक र नालीमा चुहिएको इन्धन सङ्कलन गर्न थालेपछि ठूलो मानवीय क्षति व्यहोर्नु परेको नाइजेरियाका प्रहरीले बताएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (एनइएमए) का प्रवक्ता नुरा अब्दुल्लाहले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । राष्ट्रपति बोला अहमद टिनुबुले गएको वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । त्यहाँ पेट्रोल प्रायः अभाव हुने गर्छ । गएको हप्ता मात्र सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।