समाचार

राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा सफल भए रथी पदमा बढुवा गरेर कामकाज गर्न जान स्वीकृति दिएको उनले बताएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन । यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी अनिवार्य भएपनि एक जना प्रधानसेनापति हुने लाइनमा र अर्का शान्ति मिसन फोर्स कमाण्डका रुपमा नेपाल बाहिरै भएकाले सम्भव भएको नभएको बताइएको थियो । तर, प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएलगत्तै उनले अधिकारीलाई उम्मेदवारको रुपमा अघि सारेका थिए । जंगीअड्डाका स्रोतका अनुसार, फेरि उम्मेदवारी दिने अवसर आएपछि हाल युद्धकार्य विभागमा रहेका उपरथी अधिकारीलाई अघि सारिएको थियो ।

नेपाली सेनाले यो तहको भूमिका पाएमा शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्नेछ । हालसम्म नेपाली सैनिक अधिकारीहरुले फोर्स कमाण्डर तहसम्म मात्र जिम्मेवारी पाएका थिए । माथिल्लो तहमा भूमिका दिन नेपालले पटकपटक माग गर्दै आएको थियो । सैनिक सल्लाहकारको नियुक्ति संयुक्त राष्ट्र संघको महासचिवले गर्छन् ।

महसचिव एन्टोनियो गुटेरसले सन् २०२१ मा सेनेगलका जनरल विरामे डियोपलाई सैनिक सल्लाहकार नियुक्त गरेका थिए । यो जिम्मेवारी पाउनुअघि डियोपले सेनेगलका राष्ट्रपतिका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार र एयरफोर्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका थिए । उनीभन्दा अगाडि उरुग्वेका जनरल कार्लोस हम्बर्टो सैनिक सल्लाहकार थिए ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, सामान्यतः सैनिक सल्लाहकारको कार्यकाल दुई वर्षको हुन्छ । तर, कहिलेकाहीँ आवश्यकता अनुसार म्याद थप समेत हुने गरेको छ ।