समाचार

ब्रिटेनको लेवर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

काठमाडौं । डोनल्ड ट्रम्पको चुनावी अभियानले ब्रिटेनको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाउँदै उजुरी दायर गरेको छ। रिपब्लिकन अभियानको विज्ञप्तिमा ब्रिटेनको ‘द टेलिग्राफ’ पत्रिकामा प्रकाशित एउटा समाचारलाई उद्धृत गरिएको छ। उक्त समाचारले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको दाबी गरेको थियो।

ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको निर्वाचन अभियानले लगाएको आरोपको विषयमा प्रतिक्रिया व्यक्त गरेका छन्। ‘लेबर पार्टीका स्वयंसेवकहरू छन्, उनीहरू प्रत्येक निर्वाचनमा गएका छन्, उनले भने। यसअघि लेबर अधिकारीहरूले अमेरिका गएका व्यक्तिहरू व्यक्तिगत हैसियतमा भएको र उनीहरूलाई दलको कोषबाट कुनै आर्थिक सहयोग नगरिएको दाबी गरेका थिए। पार्टीले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको थिएन।

उक्त उजुरीमा लेबर पार्टीका एक अधिकारीको सामाजिक सञ्जालमा गरेको एउटा पोस्ट पनि प्रमाणका रूपमा समावेश गरिएको छ। यद्यपि उक्त पोस्ट पछि मेटिएको थियो। त्यसमा लेबर पार्टीका सयौँ कार्यकर्ताहरूले ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा डेमोक्र्या‍टिक पार्टीको पक्षमा प्रचार गर्ने योजना बनाइएको उल्लिखित थियो। ‘उनीहरू आफ्नो खाली समयमा त्यसो गर्दै छन्। उनीहरू स्वयंसेवक बनेर त्यसो गर्दै छन्। उनीहरू अरू स्वयंसेवकहरूसँग मिलेर बसेका छन् भन्ने मलाई लाग्छ,’ आफ्ना पार्टी कार्यकर्ता अमेरिका गएको विषयमा उनले भने।

कमनवेल्थ राष्ट्रका सरकार प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन समोआ जाँदै गर्दा स्टार्मरले विमानमा संवाददाताहरूसँग कुरा गरेका हुन्। डोनल्ड ट्रम्पको अभियानले सङ्घीय निर्वाचन आयोगमा हालेको उजुरीमा यूकेको लेबर पार्टीले ह्यारिस-वाल्ज अभियानलाई सहयोग पुर्‍याउने गरी चर्को वैदेशिक हस्तक्षेप गरेको आरोप लगाइएको छ। उक्त उजुरीमा लेबर पार्टी र ह्यारिसको अभियानबीच सम्पर्क भएको विषयमा सञ्चारमाध्यममा प्रकाशित विवरण र स्वयंसेवाका प्रयासहरूको चर्चा गर्दै त्यस्तो सहयोग गैरकानुनी हुने तर्क गरिएको छ।
बीबीसीको सहयोगमा