प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी
काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डा बोकेर आन्दोलन सुरु गर्ने बताएका छन् । शनिबार मकवानपुर आएका प्रचण्डले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरे
मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग को नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाबाट ५ वर्षको स्थायी सरकार नबनेसम्म मुलुकमा बेथिति र भ्रष्टाचारको अन्त्य नहुने बताए ।
मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको भन्दै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताए । ञनयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ, प्रचण्डले भने, प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’ कांग्रेस र एमालेसँगको लामो संगतले माओवादी बिग्रिएको भन्दै उनले अब नागरिकसँग माफी मागेर अघि बढ्ने बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेप्रति जनताको आक्रोश र असन्तुष्टि दिनदिनै बढिरहेको जिकिर गरे । विपदका बेलामा पीडितको घरदैलोमा पुग्दा सरकार कहाँ छ थाहा छैन भन्दै आफूलाई भरोसा गरेको उनले दाबी गरे ।