बिचार

आफ्नो चीन भ्रमणका उपलब्धी प्रधानमन्त्रीले यसरी सुनाए…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए ।

प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीनजस्ता विकसित मुलुकबाट लगानी र सहकार्य वृद्धि गरी समृद्धिको यात्रामा अगाडि बढिरहेका सन्दर्भमा सन् २०२५ मा धेरै ठुलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भएको जानकारी दिए । उनले चीनका व्यवसायी उद्यमीको छलफलबाट आफू उत्साहित भएको बताए ।


प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दलको सहकार्यमा बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास पनि उल्लेख गरे । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई उचाइमा लान बल पुगेको बताइन् ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले दुई देशको पारस्परिक विश्वास र समझदारी वृद्धि गर्न भ्रमण सफल रहेको बताए । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबिच ‘बेल्ट एण्ड रोड’ इनिसिएटिभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको छ । रासस