विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने
काठमाडौँ, मङ्सिर २९ गते । विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो ।
नेपालको दिगोपनाका लागि सक्षम वातावरण सुधार गर्ने लक्ष्य राखेका तीन वटा विकास नीति सञ्चालन कार्यक्रमको शृङ्खलामा यो दोस्रो रहेको विश्व बैङ्कले जनाएको छ । नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि विश्व बैङ्कका क्षेत्रीय निर्देशक डेभिड सिक्लेनका अनुसार यो व्यावहारिक शृङ्खला नेपालका लागि थप उत्थानशील र दिगोपन निर्माण गर्न र सबै नेपालीका लागि दीर्घकालीन विकासको आधारलाई चलाउन र संरक्षण गर्न उत्प्रेरक हो ।
यस सहायता सञ्चालनले हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, भूमिको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन, र जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा नेपालको नीति कार्यक्रिमलाई समर्थन गर्छ ।
सन् २०२१ देखि नेपाल सरकारले वातावरणीय दिगोपन, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्यको महत्वाकाङ्क्षी कार्यक्रम तय गरेको छ । यस दृष्टिकोणले बेरोजगारी, महामारी, जोखिममा परेका समूहका लागि आर्थिक अवसरको विस्तार र नेपालको जनता, समृद्धि र वातावरणलाई असर गर्ने जलवायु र अन्य वातावरणीय जोखिमका अन्तक्रियात्मक चुनौतीलाई सम्बोधन गर्न विकास मोडेलको आवश्यकतालाई मान्यता दिने उक्त बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।