समाचार

भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए ।

‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको अभियान, भोलिको देशभक्तिपूर्ण संगठन निर्माणको आधार हुनेछ । देश र जनतासँग परामर्श गरेर अघि जाने कुरा हो,’ उनले भने, ‘देश र जनतासँग सम्बन्धित समय विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।’

उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधनमात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ ।

राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ ।’ उनले विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्ने प्रतिबद्धता गरेका छन् ।


उनले प्रमुख दलहरु पद र सत्ताको स्वार्थमा लागेको आरोपसमेत लगाए । ुदेश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तया सरकार पदको भागबन्ड र निहित स्वार्थको साधनमा झारिएको छ,ु उनले भने, ‘राजनीतिक परिवर्तनपछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन र गन्तव्यहीन बाटोमा धकेलिएको छ ।

उनले देशभक्तिपूर्ण भावना र चेतले मुक्त जनमत र सरकारको आवश्यकता भएको बताए । देश बलियो भयो भने जनता बलिया, नयाँ हुन्छन् जनता समृद्ध भए देश बलियो हुन्छ भन्ने मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ, उनले थपे, यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ ।

भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।