बिचार

पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धीको आधारको रुपमा विकास गरिनुपर्ने बताएका छन् । बुधबार तनहुको बन्दिपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजीत सभालाई संवोधन गर्दै उहाँले पूर्वाधारहरुको बहुउपयोगितालाई ध्यान दिनु पर्ने समेत बताए ।

ग्रामिण तथा आन्तरिक पर्यटनका गन्तव्यमा पूर्वाधारको विकास गरी बाह्य पर्यटकलाई समेत आकर्षित गराउन सकिने उनले बताए । पर्यटकीय स्थलहरु सम्म पुग्ने सडक तथा संरचनाहरुको निर्माणम, मर्मत तथा पुननिर्माणमा मन्त्रालयले प्राथमिकता दिने भन्दै उहाँले नेपाली पर्यटनको विश्वव्यापी प्रचार र प्रवद्र्धनमा जुट्नु पर्ने समेत बताए ।


पर्यटन मार्फत हस्तकला, परम्परागत शिप, संस्कृति, संगीत, खाद्यपरिकार, पहिरन, लगायतको समेत व्यवसायीकरण गराउन सकिने भन्दै मन्त्री दाहालले पर्यटन प्रवद्र्धन मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने तर्फ पनि ध्यान दिईनु पर्ने जनाए । नेपालका हिमाल, नदी, वन जंगल, पर्यावरण, धार्मिक तथा सांस्कृतिक गन्तव्य र सम्पदाहरु बाह्य पर्यटकहरुको रोजाईमा पर्ने गरे पनि नेपालका ग्रामिण क्षेत्रका रहेका विविधताहरु पनि पर्यटनकै माध्यमबाट थप प्रवद्र्धन गर्न सकिने उनले उल्लेख गरे ।

तीनै तहका सरकारहरुले पर्यटन, पर्यटकीय क्षेत्र तथा गन्तव्यहरुको विकास र प्रवद्र्धनमा जोड दिनु पर्ने भन्दै उहाँले नेपालको पर्यटन विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्प रहेको पनि बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको समेत उत्साहजनक सहभागीता र लगानी भई रहेको भन्दै मन्त्री दाहालले नेपालमा अवसर छैन भन्दै विदेशीने युवाहरुलाई स्वदेशमानै सम्भावनाको खोजी गर्न समेत आग्रह गरे ।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले बन्दीपुर नेपालको मौलिक र ग्रामिण पर्यटनको आकर्षक गन्तव्य रहेको बताए । यहाँको पर्यटनलाई प्रवद्र्धन गरि आर्थिक विकासको आधारका रुपमा विकास गर्न सकिने सम्भावना रहेकाले तीनै तहका सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताए । स्थानीय सरकार, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी एवम् विभिन्न क्षेत्रको सहकार्यमा भ्रमण वर्ष विशेष कार्यक्रम उद्घाटन हुनु अघि विभिन्न झाँकीहरु प्रदर्शन गरिएको थियो ।