समाचार

एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको दावि गरेका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ राजनीतिक कोर्सको आवश्यकता, औचित्य र अवसर, गठबन्धनपछिका ६ महिनाका सन्दर्भमा समिक्षा गरिएको छ। समिक्षामा मुलुकको अर्थतन्त्रमा सुधार आएको निस्कर्ष निकालिएको छ ।

उनले बैठकमा यस अवधिमा अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास, बदलिँदो विश्व परिवेश, नेपालको परराष्ट्र नीति, स्थानीय तहको उपनिर्वाचन एवम् निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयमा छलफल भएको जानकारी दिएका छन् । उनले अध्यक्ष ओलीको प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश दिइएको, साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको तथा अर्थतन्त्रमा सुधार आएको विषय उल्लेख छ ।

यसका साथै, संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको, सहकारी क्षेत्रका बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमित्तामा सङ्लग्नलाई सजाय दिन थालिएको र विकास निर्माणले गति लिएको जस्ता मुख्य उपलब्धिहरु प्रतिवेदनमा समावेश रहेको उनले जानकारी दिए ।


बैठकको सुरुवातमै ओलीले देश विशेष परिस्थितीबाट गुज्रिरहेको र देशभक्त तथा प्रगतिशील शक्ति मजबुत बन्दै गएकाले प्रतिक्रियावादीहरु आतङ्कित भएर अस्वस्थ र झुठो प्रचारको हमलामा उत्रिरहेको बताए । अध्यक्ष ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने तथा अराजकताको अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको उनको भनाइ छ । उनले बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयताका पोलिट्ब्यूरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरु सर्वसम्मतिले अनुमोदन गरिएको जानकारी दिए ।