कीर्तिपुरको एमाले सगरबाट अब दुईचार तारा झर्नुपर्छ
प्रेमकृष्ण श्रेष्ठ। कीर्तिपुर
वि.स. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्याशित हार भयो । हारलाई अन्र्तघातको अडकल गरी गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा सन्त नेताले यसो भनेको थिए रे, “बिपी कोइराला, जस्ले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र, गिरिजा बाबुलाई कारवाही गरेर कांग्रेस फुटाएको दोषको भार म लिन्न सक्दिनँ । मैले कारवाही गरे भने कांग्रेस चिरिन्छ र लास हुन्छ । लास हुन दिनु भन्दा म यसबाट अलग भइदिँदा जीवन रहन्छ भने रहोस्, फलोस् र फुलोस् भनि कारवाही नगर्ने निर्णय लिएको हुँ ।” त्यसपछि कांग्रेसको राजनीतिमा के भयो इतिहास गवाही नै छ ।
कांग्रेसी इतिहासको त्यो कालखण्डमा जस्ले क्षमा गरे उनी इतिहासमा ‘सन्त’ भए भने जस्लाई अन्र्तघातको आरोप लाग्यो, उनी कैयनपटक नेपालको इतिहासमा प्रधानमन्त्री भए । सन्त नेता किसुनजीको यो निर्णयबाट यो पुष्टि हुन्छ कि, अन्र्तघात पछि संगठनमा दुइटा मात्र बाटा हुन्छन्, कि छानी छानी कारवाही गर्ने कि आफू बलिदान भएर संगठनलाई जोगाउने । इतिहासमा नेता बलिदान भएर संगठन जोगाउनुका साथै अन्र्तघातीलाई कारवाही गरेर पार्टीलाई शुद्धिकरण गरेको अक्षर पनि कोरिएका छन् । अन्र्तघातले छिया छिया भएको संगठनभित्र बलिदान र कारवाही गर्न नेतृत्व गर्नेको राजनीतिक मुटुमा हिम्मत पुष्पित हुनैपर्छ । कीर्तिपुरको एमालेमा अहिले लगातार हार हुँदै जानुको कारण यी दुइटै हिम्मतको रिक्तता नै हो । यहाँ न बलिदान भयो न कारवाही नै भयो ।
चुनावको इतिहास जति लामो छ, त्यति नै अन्र्तघातको इतिहास पनि तन्किएको छ भन्दा अत्युक्ति नहोला । सामान्य नेता मात्र होइन, संसारमै चिनिएका नेता पनि अन्र्तघातले पराजित भएको इतिहास छ । चुनाव एउटा युद्ध हो । युद्धमा आफ्नैबाट घात हुनु स्वभाविक हो । विभिषणले रावनको मृत्यु कहाँ छ भनेर देखाइदिनु, दुर्योधनको भाइ युयुत्सुले पाण्डवको मोर्चामा गएर धनुष चलाइदिनु, दुश्मनबाट भाग्ने क्रममा अगाडि भागेको सेनापतिलाई पछाडि भागेको आफ्नै उपसेनापतिले टाउको काटिदिनु, युद्धमा सामान्य हो । युद्धमा जस्तो चुनावका घातले भौतिक क्षति त हुँदैन तर मानसिकरुपमा निकै आघात पुरयाइदिन्छ । युद्धको घात दुश्य र चुनावको घात अदृष्य हुने भएकोले चुनावपछि शंका र उपशंकासिवाय केही बाँकी रहँदैन, जस्ले गर्दा त्यो क्षेत्रमा कैयन पटक घात प्रतिघात चलेर प्रतिद्धन्दिलाई लाभै लाभ भैरहन्छ । सबै नेताहरु किसुनजी जस्तो हुँदैन । आफू बलिदान भएर संगठन जोगाउने नेता निकै कम हुन्छन् ।
कुनै पनि युद्धको जीतमा केवल एउटा सेनापतिको नाम आउँछ, सेनापतिलाई अबिरले छोप्दै जयजयकारपछि युद्धको चर्चा परिचर्चा सकिन्छ । तर हारमा गोला बारुद बनाउने कारिगढदेखि त्यो गोलाबारुद्ध युद्धमैदानमा पुरयाइदिने भरियाको समेत नाम आउँछ । कारिगढले बनाएको गोली कच्चा थियो वा भरियाले गोली ओसार्दा वीच बाटोमै अर्को कच्चा गोलीसित साटिदिए । यस्ता कुराहरु हार पछि आउनु स्वभाविक हो । कीर्तिपुर नगरपालिकामा पनि एमालेको जीत भएको भए यस्ता कुनै कुरा आउने थिएन । हारपछि अनेक कुरा आए, अन्र्तघातका । अव साँच्चिकै कीर्तिपुरमा एमालेको संगठन जोगाउने हो भने कि बलिदान गर्न सक्नुपर्यो, कि कारवाही । यो दिल नजोडिएको अँगालोले सच्चा कार्यकर्ताको मन अर्को चुनावमा पनि टुक्रिने सम्भावना देखिएको छ ।
अघिल्लो लेखमा भनिसकेको छु, कीर्तिपुरको एमाले नेतृत्व अव त्यो युवा प्रतिनिधिको हातमा सुम्पियोस्, जस्को मुखमा राजनीतिक धब्बा नपोतिएको होस् । जो स्थानीय सबै नेता र कार्यकर्ताबाट स्वीकारिएको होस् । जो ७८ र ८१ को सालको स्थानीय चुनावमा नकाटिएको होस् र जस्को हातमा ८४ को लागि तरवार पनि नहोस् । नगर कमिटी लगातार दुईपटक स्थानीय चुनावमा सुन्य प्रतिफलको लज्जाले निहुरिसकेकोले, नैतिकतामा खाली होस् र त्यो नैतिकताले सिर्जेको सुन्यताले पाउने नूतन पूर्णताले यो हिम्मतिलो आवाज बोलोस कि “दुई थान हारले कीर्तिपुरमा एमाले सकिएको छैन । संगठनमा बेइमानी भयो तर इमान्दारिता पनि मरेको छैन । कीर्तिपुरमा एमालेभित्र प्रवेश गर्न चाहेका सयौँ युवाहरु पंक्तिबद्ध छन् । उनीहरुलाई सदस्यता वितरण गरेर क्षमताअनुसार पार्टीमा जिम्मेवारी वितरण गरौँ । पार्टीमा युवाको प्रवेशलाई फूल छरेर हार्दिक भावमा स्वागत गरौँ । गोजीभित्र संगठन राख्न बन्द गरौँ । संगठनका गरिमामय कमिटीहरु गोजीबाट गठन हुने प्रथा निषेध गरौँ । संगठनभित्र बरु दुई बेइमानलाई कारवाही गरौँ, तर दश इमान्दारलाई जोगाऔँ ।”
कीर्तिपुरको एमाले अव सच्चिएर जान आवश्यक छ । र अन्त्यमा, कवि भूपिको दुई पंक्तिलाई सम्झिनै पर्ने भएको छ ।
“हुँदैन बिहान, दुईचार तारा झरेर नगए
बन्दैन मुलुक, दुईचार सपुत मरेर नगए”
यो बेला कीर्तिपुरको एमाले सगरबाट दुईचार तारा झर्नुपर्ने बेला हो । हेरौँ, कुन कुन तारा झर्छन् ।
(राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठ राष्ट्रिय पत्रिकामा कलम चलाउने चर्चित युवा साहित्यकार पनि हुन्)