विश्व

अमेरिकामा डढेलो कहर, नियन्त्रणमा लिन असफल

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा लिन अमेरिका असफल देखिएको छ । प्यासिफिक प्यालिसेड्स भन्ने स्थानबाट मंगलबार बिहानदेखि डढेलो फैलिएको थियो । डढेलो भयावह बन्दा लसएन्जलस शहरको ठूलो क्षेत्र जलेर खरानी भएको बीबीसीले लेखेको छ । कयौं घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलहरु जलेका छन् । हेलिकप्टर र दमकलबाट समेत आगो निभाउने प्रयास जारी रहे पनि प्रभावकारी देखिएको छैन । आगो नियन्त्रणका लागि गरिएका प्रयास लगभग पूरै विफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आगो फैलिएपछि निभाउने पानीको समेत अभाव हुन थालेको बीबीसीले जनाएको छ । सरकारले स्थानीयबासीलाई पानी जोगाउन अपिल गरेको छ । स्वीमिङ पुलबाट समेत पानी ओसारेर आगो निभाउने प्रयास भने गरिएको छ । हालसम्म आगलागीबाट ५ जनाको मृत्यु भइसकेको छ भने हजारौं व्यक्तिहरु विस्थापित भएका छन् । बीबीसीले कम्तिमा एक लाख जना व्यक्ति घर छाड्न बाध्य भएको जनाएको छ ।

आगो १७ हजार एकड भन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरुले बताएका छन् । हलिउड हिल्स पनि डढेलोको चपेटामा परेको छ । कयौं फिल्म स्टारहरुको घर पनि आगोमा जलेको छ । डढेलोको विपत्तीका कारण ओस्कार अवार्डको नोमिनेसन पनि प्रभावित भएको छ । १७ जनवरीदेखि सुरु हुने भनिएको नोमिनेसन दुई दिनपछि सारिएको छ ।

अमेरिकाको लसएन्जलसमा डढेलो बस्तीमा पसेर विपत्ती परेका बेला लुटपाटका घटना बढेका छन् । लुटपाटमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यो डढेलोलाई क्यालिफोर्नियाको इतिहासकै सबैभन्दा विनाशकारी भनिएको छ । बीबीसीका अनुसार अमेरिकामा डढेलो भयानक हुनुका पछाडि मुख्य दुई कारण छन् ।

पहिलो सुख्खा मौसम र दोस्रो तीव्र गतिमा चलेको हावा । बीबीसीका पर्यावरण सम्वाददाता मेट म्याकग्राथका अनुसार क्यालिफोर्नियामा केही महिनायता पानी नै परेको छैन । दिनभरको गर्मीका कारण पातपतिङ्गर सुकेका छन् । जंगलका रुखहरु पनि सुकेका छन् । त्यसले इन्धनको काम गरेको छ ।

यस मौसममा दक्षिणी क्यालिफोर्नियामा तीव्र वेगमा हावा चल्ने गर्दछ । यसलाई ‘सेन्टा ऐना विन्ड्स’ भनिन्छ । यो हावा सामान्यतया १०० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा दक्षिणी क्यालिफोर्नियाबाट भित्री इलाका हुँदै समुद्री तटतर्फ अगाडि बढ्दछ । तर एक दशकयता पनि यो क्षेत्रमा खतरनाक ढंगको हावा चलेको बीबीसीले जनाएको छ ।

हावाको वेगले आगोलाई छिटो जताततै फैलाउन मद्दत गरेको बताइएको छ । विगतमा पनि डढेलो लाग्ने गरे पनि पहाडी क्षेत्रमा मात्र सीमित हुन्थ्यो । अहिले भने तीव्र गतिको हावाकै कारण शहरी क्षेत्रमा आगो फैलिएको बताइएको छ । अमेरिकाका जलवायु विज्ञहरुका अनुसार अझै पनि तीव्र हावा चल्ने सम्भावना रहेकाले आगो अझै फैलिने सम्भावना छ । जलवायु अध्येता ड्यानियल स्वेनले सामाजिक सन्जालमा लेखेका छन्, ‘शहरी क्षेत्रमा अझै आगो फैलिने आशंका छ ।’