अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?
काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारले विपक्षी दलबाट विरोधको सामना गर्नुपर्ने देखिएको छ । सरकारले हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । विपक्षी दल त्यसको प्रतिवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसद विरोधमा उत्रिने तयारीमा रहेको स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।
विहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका थिए । अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरु एकमत भएर संसदमा उठाउने विपक्षी दलका नेताहरुले बताएका छन् ।