सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य राजनीतिक दलको पनि सरकारमा सहभागिता र समर्थन छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको सातबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरुको पनि निरन्तर सहयोग रहनेछ भन्ने मैले विश्वास गरेको छु।”
सभापति देउवाले वर्तमन सरकार गठन भएको साढे ५ महिना पूरा भएको भन्दै विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण यो सरकार गठन भएको बताए । लोकतन्त्र अनुशासनको पद्धति पनि हो । लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्नु हुँदैन । लोकतन्त्रको विशाल स्वतन्त्रताको छहारीमुनी सभ्य, शिक्षित र सुसंस्कृत समाज निर्माण गर्नु पर्दछ ।
उनले सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, दिगो शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने तथा विकास निर्माणलाई तीव्र गति दिने सरकारको मुख्य ध्येय रहेको बताए । उनले संसदमा कानुन निर्माणको विषयले गति लिन नसकेको गुनासो सुनिएको भन्दै आवश्यक कानुन बनाउन ढिलाइ गर्न नहुने धारणा राखे ।