स्थानीय

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष


काठमाडौं । अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा हत्या भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको अछाम प्रहरीले जनाएको छ । माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए ।

घटनाको आशङ्का र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ । पक्राउ परेकाहरूलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।


पक्राउ परेकाहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरूले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरू बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरू पनि पुगेका थिए । उनिहरू किशोरीहरूको फोन सम्पर्क मार्फत जङ्गल पुगेका हुन् । उहीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ । आरोपितहरूले जङ्गलमा मृतकसँग उपहार स्वरूप चुन्नि मागेका थिए ।

मृतक ईशराले चुन्नि दिए पनि सरस्वतीले चुन्नि उपहार लिन नमान्दा घटना घटेको देखिएको छ । सरस्वतीले चुन्नि नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए । सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो ।

सरस्वतीको हत्या भएको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले बताएको छ । घटना पश्चात उक्त घटना कृतिम बनाउनका लागि हत्याराले ईशराको शव व्यवस्थापन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।