नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश
काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए ।
एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष गंगा लामा, राजेन्द्र कँडेललगायतका नेता माओवादी प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेका भण्डारी यसअघि एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षसमेत रहेका थिए । एमालेमा हुँदा पार्टी सचिव रहेका भण्डारी विभाजनसँगै एकीकृत समाजवादीतिर लागेका थिए ।
त्यसअघि २०७४ को निर्वाचनमा उनी एमालेबाट भरतपुर १० को वडाध्यक्ष निर्वाचित भएका थिए । शनिबार आयोजित कार्यक्रममा अन्य विभिन्न पार्टीका ६० नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी चितवनका अध्यक्ष रामचन्द्र न्यौपाने (आरसींले जानकारी दिए ।