महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले हारेको छ । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको कमजोरी पुनः ब्याटिङमै दोहोरिएको छ ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् ।