समाचार

भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार १ सय ५० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा कम हो । यस आर्थिक वर्ष भारतले २ हजार ५ सय ४३.४८ करोड रुपैयाँ विनियोजना गरेको थियो ।

भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय करोड, म्यानमारलाई ३ सय ५० करोड, श्रीलंकालाई ३ सय करोड, अफगानिस्तानलाई १ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।