संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए
काठमाडौं । आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्मा प्रश्नोत्तर सकाएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो। पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो।
साहले वैदेशिक रोजगारीमा रहेका युवाहरूको समस्या देखि राजधानी जोड्ने सडकमार्गको दुरावस्था लगायतका विषयमा आठ वटा प्रश्न प्रधानमन्त्रीलाई सोधेका थिए। उनको पाँचौँ प्रश्न प्रधानमन्त्रीको भारत भ्रमणबारे थियो। ‘तपाईँले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदै छु भन्नुभएको थियो, त्यो जाँदै छु भनेको कहिले हो ? निम्तो नै नआईकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? साहले प्रधानमन्त्री ओलीलाई सोधे।
गत असारमा प्रधानमन्त्री भएका ओली उत्तरी छिमेकी चीन भ्रमणमा गए पनि दक्षिणी छिमेक भारतको भ्रमणमा गएका छैनन्। यसबारे राजनीतिक वृत्तमा चर्चा चलिरहँदा गएको मङ्सिर २३ गते दमकमा सरकारी लगानीमा बनेको व्यापारिक कम्प्लेक्स उद्घाटनका लागि पुगेका ओलीले आफ्नो भारत भ्रमणको योजना सुनाएका थिए। तर आइतवार ओलीले सांसद साहले सोधेका भारत भ्रमणसहित कुनै पनि प्रश्नको जबाफ दिएनन्।
ूउहाँका प्रश्नहरू उहाँको मनमा रहेका विरोध, घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन्। संसद्जस्तो गरिमामय ठाउँमा यस्तो भाषा‘, ओलीले भने। ‘उहाँले गर्नुभएका प्रश्नहरूमा खासै जबाफ दिइरहनु पर्ने छैन। सबैको उत्तर आफैँ प्रश्नमा बोकेर आउनुभएको छ। त्यसकारण मैले उत्तर दिइरहनु परेन। यहाँलाई धन्यवाद छ।’
प्रधानमन्त्रीले आफ्नो विषयमा टिप्पणी गरेपछि सांसद साह उठेर बोल्न समय मागेका थिए। तर सभामुख देवराज घिमिरेले प्रतिप्रश्न नहुने भन्दै उनलाई रोकेपछि प्रश्नोत्तर कार्यक्रम सकिएको थियो। साहको पार्टीबाट प्रतिनिधिसभामा उनी एक्ला सांसद हुन्। पूर्वमन्त्री समेत रहेका उनी गएको निर्वाचनमा रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। त्यसअघि उनी नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा अलग हुँदा ओली नेतृत्वको नेकपा एमालेमा आबद्ध थिए।
प्रधानमन्त्री ओलीलाई सत्ता र प्रतिपक्षमा रहेका सांसदहरूले सरकारका काम कारबाहीबारे प्रश्न सोधेका छन्। आज सत्तारुढ दलका प्रश्नमा नरम सुनिएका प्रधानमन्त्री विपक्षी दलका नेताले सोधका प्रश्नमा निरन्तर झर्किएका थिए । उल्टो प्रतिप्रश्न तेस्राएका थिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रमा देखिएको शिथिलताबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। यसअघिका अर्थमन्त्री समेत रहेका पुनका प्रश्नमा जवाफ दिँदै ओलीले अघिल्लो सरकारका पालामा भन्दा राम्रो काम भइरहेको दाबी गरे।