समाचार

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा दूतावासले के भन्यो ?

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थीलाई छात्रावास (होस्टल) र कक्षा सञ्चालनको व्यवस्था मिलाउने बताएको छ । नयाँ दिल्लस्थित नेपाली राजदूतावासका अनुसार, सो संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिले नेपाली विद्यार्थीका लागि छात्रावास र कक्षा सञ्चालनको व्यवस्था मिलाउने जानकारी गराएका छन् ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै सोही संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरिएको जानकारी गराएको छ । ‘हाम्रो अनुरोध बमोजिम उक्त शैक्षिक संस्थाले सोही अनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरूका लागि कक्षा सञ्चालनको व्यवस्थापन गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ओडिसा काण्ड : कलेजले दियो नेपाली विद्यार्थीलाई दोष-घटना ढाकछोप गर्ने प्रयास

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उक्त प्रकरणमा न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो । उक्त कलेजमा लगभग १५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । उक्त घटनामा निष्पक्ष छानबिन गर्न पनि दूतावासले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।