समाचार

केआईआईटी कलेज काण्ड : ओडिसा सरकारले बनायो उच्चस्तरीय छानविन समिति

काठमाडौं । कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन समिति गठन गरिएको उल्लेख गरेको छ ।

समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ । ‘कलेजमा प्रदर्शन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ’ विभागका निर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’

ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ । आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि सोही कलेजमा अध्ययनरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।

तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । कलेजका सुरक्षा गार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।