केआईआईटीका विद्यार्थीलाई कलेजमा फर्कन नियन्त्रण कक्ष सञ्चालन
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का विद्यार्थीलाई कलेजमा फर्कन नियन्त्रण कक्ष सञ्चालन गरिएको जानकारी गराएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपिल गरेको छ । ‘केआईआईटीलले ‘अनिश्चितकालीन’ आदेश फिर्ता लिएको छ र नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन र आफ्नो कक्षा पुनः सुचारु गर्न अपील गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यसले नेपाली विद्यार्थीहरूको स्वदेश फर्कन सहज बनाउन क्याम्पसमा २४ः७ समर्पित नियन्त्रण कक्ष पनि स्थापना गरेको छ ।’
ओडिसा काण्ड : कलेजले दियो नेपाली विद्यार्थीलाई दोष-घटना ढाकछोप गर्ने प्रयास
ओडिसास्थित प्रहरीले यस मुद्दामा वस्तुनिष्ठ, निष्पक्ष र न्यायपूर्ण अनुसन्धानको आश्वासन दिएको पनि दूतावासले जनाएको छ । घटनाको छानबिनका लागि गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य खोजी समिति गठन भएको र समितिको निष्कर्षको आधारमा उपयुक्त कानुनी र प्रशासनिक कारबाही हुने दूतावासले बताएको छ । सरकारले नेपाली विद्यार्थीहरू सहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । भारत सरकारले भारतमा रहेका नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने दूतावासले बताएको छ ।