महाकूम्भमा भाग लिन जाँदै कांग्रेस सभापति देउवा
काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् । देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् ।
उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन ।
कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?
यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् । महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए ।
पुस २९ मा औपचारिक रूपमा सुरु भएको महाकुम्भ ४५ दिनपछि आगामी बुधबार सकिँदैछ । कुम्भमेला हरेक १२ वर्षमा हुन्छ भने महाकुम्भ १४४ वर्षमा एक पटक आउँछ । कुम्भमेला प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा हुन्छ भने महाकुम्भ प्रयागराजमा हुने गर्छ । त्रिवेणी संगममा स्नान गर्दा आत्मिक शुद्धता हुने धार्मिक मान्यताले दशनार्थीहरु प्रयागराज पुग्ने गरेका छन् । प्रयागराज पुग्ने नेपालका नेताहरुले पनि महाकुम्भको अवसरमा गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भुत आध्यात्मिक शान्तिको अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।