प्रकृति प्रकरणपछि विराटनगर नाका हुँदै नेपाल आए ७५ विद्यार्थी
काठमाडौं । विराटनगरको रानी नाका हुँदै भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत ७५ जना विद्यार्थी घर फर्किएका छन् । नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विश्वविद्यालयले दुर्व्यवहार गर्दै निकोलका मध्ये ७५ जना बुधबार विराटनगर नाका हुँदै घर फर्किएका हुन् । मंगलबार तीन जना फर्किएका थिए । मंगलबार राति पूर्वीनाका काँकडभिट्टा नाका हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।
भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगरको रानी नाका हुँदै बुधबार मोरङका ३६, सप्तरीका १६, सुनसरीका ११, काठमाडौँ र सिरहाका ३–३ जना, सर्लाही र जनकपुरका २–२ जना तथा ललितपुर र उदयपुरका १–१ जना विद्यार्थी नेपाल फर्किएका हुन् ।
शंकास्पद अवस्थामा मृत भेटिएकी लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले विद्यार्थीलाई दुर्व्यवहार गर्दै कलेजबाट निकालेको थियो । विद्यार्थीमाथि दुर्व्यवहार भएको विषयले नेपाल र भारतमा चर्को विरोध भएपछि कलेज प्रशासनले सार्वजनिक रूपमा माफी मागेको थियो । आइतबार भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।